एमाले महाधिवेशन : मतदान बुधबार बिहान

काठमाडौँको भृकुटीमण्डपमा मङ्गलबार जारी नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार द्वय केपी शर्मा ओली र ईश्वर पोखरेल भलाकुसारी गर्नुहुँदै । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ, १ पुस । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतदान बुधबार बिहान हुने भएको छ । आज साँझ हुने भनिएको मतदान स्थगित गरिएको पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार नयाँ नेतृत्वका लागि बुधबार बिहान ८ः०० बजेदेखि मतदान हुने छ ।

“विद्युतीय भोटिङ मेसिनमा समस्या आएपछि आज साँझदेखि सुरु गर्ने भनिएको मतदान स्थगित गरिएको छ”, उनले भने । यसअघि आज साँझदेखि मतदान हुने तय भएपछि प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसेका थिए । तीन सय एक सदस्यीय नयाँ कार्यसमितिका लागि करिब ६६० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् । नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।