चितवन । एमाले महाधिवेशनका दौरान २५ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । जिल्ला सुरक्षा समितिले चितवनमा एक हजार पाँच सय र नवलपरासीमा एक हजार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने जानकारी गराएको छ । सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुल थापा र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी चितवन मै छन् ।
महाधिवेशन स्थल र बन्दसत्र सञ्चालन हुने सौराहामा सुरक्षाकर्मीको निगरानी बढी हुने भएको छ । महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू र विदेशी पाहुना आउने भएकाले स्थानीय प्रशासनले त्यहीअनुसारको सुरक्षा व्यवस्था र रणनीति तयार गरिएको बताइएको छ ।
उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । पूर्वपश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको समेत प्रशासनले जनाएको छ ।