एम्बाप्पे लगातार दोस्रो खेलमा गोल गर्न असफल, गोल्डेन बुट र बल दुबै होडमा मेसी अगाडी

काठमाडौं । जारी विश्वकप फुटबलको गोल्डेन बुट र बल दुबै होडमा अर्जेण्टाइन स्टार लियोनल मेसीले अग्रता लिएका छन् । फ्रान्सका फरवार्ड किलियन एम्बाप्पेले क्वाटरफाइनल र सेमिफाइनल दुबै खेलमा गोल गर्न सकेनन् । जसका कारण उनलाई यस होडमा मेसीले उछिनेका हुन् । दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको छ ।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एक–एक गोल गरे । फ्रान्सले उपाधिका लागि अर्जेन्टिनासँग आइतवार खेल्दैछ । गोल्डेन बुट धेै गोल गर्ने र र गोल्डेन बल उत्कृष्ट खेलाडीलाई दिइन्छ । यी दुबै होडमा मेस्सी र एम्बाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५–५ गोल गरेका छन् ।

असिस्टको आधारमा लिओनल मेस्सी सूचीको शीर्षस्थानमा रहेका छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा त्योभन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट सङ्ख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । मेस्सीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट रहेको छ। टोलीमा गरेको व्यक्तिगत प्रदर्शनका आधारमा दिइने गोल्डेन बलमा समेत मेसी एम्बाप्पेको तुलनामा अगाडी छन् ।