एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

काठमाडौं । एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेका हुन् । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छन् । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने गरेको फाइदा उठाउँदै गाँजा तस्करी भएको हो ।

धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएको पाइएको छ । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएको छ । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो । शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पूर्व पहाडी जिल्ला धनकुटामा व्यावसायीक रुपमा गाँजा खेती हुन्छ । धनकुटासँगै उदयपुर, भोजपुर, खोटाङ र सङ्खुवासभा पनि गाँजा खेती हुन्छ ।
उत्पादित गाँजा मोटरसाइकल,एम्बुलेन्स, तेल बोक्ने ट्याक्टर, तरकारी बोक्ने गाडीलगायत साधन प्रयोग गरेर सुनसरी मोरङ हुँदै तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सप्तकोशी नदीको ट्युबमा हालेर पनि गाँजा तस्करी हुने गरेको छ । प्रहरीले गत २ फागुनमा धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा बरामद गरेको थियो ।