काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो।
दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। मारिएकाहरूको पहिचानलाई डीएनएको माध्यमबाट पुष्टि गर्ने कामलाई निकै समय लाग्ने बताइएको छ। शुक्रवार घटनास्थलबाट ब्ल्याक बक्स भेटिएको थियो। भारतका नागरिक उड्डयन मन्त्री राममोहन नायडुले दुर्घटनाको कारण पत्ता लगाउन त्यो निकै सहायक हुने बताए।
अहमदाबादको सरदार बल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको ६० सेकेन्ड नबित्दै उक्त विमान बीजे मेडिकल कलेज तथा सिभिल अस्पतालका चिकित्सकहरूको आवास रहेको भवनमा बज्रिएको थियो। शनिवार सो कलेजका जुनिअर डक्टर्स असोसिएसनका अध्यक्ष डा. धवल गामाटीले अस्पतालमा २७० शव पुष्टि भएको बताए। तिनमा २४१ शव विमानका यात्रु तथा चालक दलका सदस्यहरूको भएको विश्वास गरिएको छ।
आफन्तहरूले दिएका डीएनएका नमुनामा आधारित भएर परीक्षण गर्दा ३० जनाको शव पहिचान भइसकेको बताइएको छ। आइतवार लन्डनस्थित भारतीय उच्चायुक्तको कार्यालय अगाडि करिब १०० मानिस भेला भएका थिए। उनीहरूले मारिएकाहरूको सम्झनामा मैनबत्ती बालेका थिए। उक्त समुदायका एकजना अगुवाले आफ्ना प्रियजन गुमाएका परिवार उनको पहिचान गर्न भारत गएको र अस्पतालमा डीएनए परीक्षणको नतिजा कुरिरहेको बताए।
त्यहाँ भेला भएका धेरैले यो दुर्घटना किन र कसरी हुन गयो भन्ने जबाफ खोजिरहेको ती अगुवाले बताए। भारतको विमान दुर्घटना अनुसन्धान निकाय (एएआईबी)ले अनुसन्धानको नेतृत्व गरिरहेको छ भने उसलाई अमेरिका र यूकेका टोलीहरूले सघाइरहेका छन्। हवाई यात्रा ट्र्याक गर्ने वेबसाइट फ्लाइटरेडार२४को डेटा अनुसार, उक्त बोइङ ड्रिमलाइनर ७८७(८ करिब ११ वर्ष पुरानो विमान थियो। उसले गत दुई वर्षमा अहमदाबाद र लन्डनको ग्याटविक विमानस्थलबीच २५ वटा उडान भरेको थियो।
बिहीवारको दुर्घटनापश्चात् भारतको उड्डयन नियामक निकाय डीजीसीएले एअर इन्डियाका बोइङ ७८७-८ अनि ७८७-९ विमानहरूमा थप सुरक्षात्मक परीक्षणको आदेश दिएको छ। शुक्रवार भारतीय प्रधानमन्त्रीले दुर्घटनास्थलको निरीक्षण गरेका थिए भने एकमात्र जीवित यात्रु विश्वासकुमार रमेशसहित घाइतेहरूलाई भेटेका थिए।