काठमाडौं । साविक विजेता कतार घरेलु मैदानमै जारी एएफसी एसियन कप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार अल थुमामा स्टेडियममा भएको दोस्रो सेमिफाइनलमा ३ पटकको विजेता इरानलाई ३–२ ले हराउँदै कतार लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
यसअघि २०१९ मा पहिलो पटक फाइनल पुग्दा कतारले उपाधि उचालेको थियो । लगातार दोस्रो पटक उपाधि जित्ने होडमा रहेको घरेलु टोली कतारले उपाधिका लागि जोर्डनसँग खेल्नेछ । जोर्डनले पहिलो पटक फाइनल पुगेको हो । उसले २ पटकको च्याम्पियन दक्षिण कोरियालाई स्तब्ध हराएको छ ।
खेलको चौथो मिनेटमै सरदार अजमोनले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए । तर उक्त अग्रता लामो समय टिकेन । तारमा जास्सेम गाबेर अब्दुलसल्लमले १७औं मिनेटमा बराबरी गोल फर्काए । अक्रम अफिफले ४३औं मिनेटमा गोल गरेपछि कतारले पहिलो हाफमा २–१ को अग्रता बनायो ।
दोस्रो हाफमा इरानले खेलमा पुनारगमन गर्यो । ५१औं मिनेटमा इरानका अलिरेजा जहानबख्शले पेनाल्टीमा गोल गरेपछि खेल २–२ को स्थितीमा पुग्यो ।
८२औं मिनेटमा अलमोएज अलीले गोल गर्दै कतारलाई ३–२ को अग्रता दिलाउँदै जित नजिक पुर्याएका थिए । र अन्तिममा त्यही गोल कतारलाई फाइनल पुर्याउन निर्णायक बन्यो । इन्जुरी टाइमको तेस्रो मिनेटमा इरानका शोजाए खालिलजादेह रातो कार्डको सामना गर्दै मैदान बाहिरिएका थिए ।