काठमाडौं । एसियाली खेलकुद आजबाट सुरु हुँदैछ । प्रतियोगिता शनिबारदेखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा सुरु हुने छ । उद्घाटन समारोहमा भाग लिन नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चीन पुगिसकेका छन् । उनी अमेरिकाबाट सिधै चीन पुगेका हुन् । कोरोनाका कारण एक वर्षपछि सरेको प्रतियोगिताको सफल आयोजनाका लागि चीनले कुनै कसुर बाँकी राखेको छैन ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन् । चिनियाँ मिडियाका अनुसार सीले प्रतियोगिताको सफल आयोजनाका लागि व्यक्तिगत रुचि देखाउँदै लगातार निर्देशन पनि दिइरहेका छन् । अन्य धेरै राष्ट्राध्यक्ष र सरकार प्रमुख समेत यस समारोहमा उपस्थिति हुने छन् ।
प्रतियोगिताकै लागि भनेर पूरा हाङचउ सहर सिंगारिएको छ र यसक्रममा चीनले बाँकी विश्वलाई भन्न चाहेको छ, ‘मुटुदेखि मुटुसम्म भविष्य’ का लागि । यसपल्ट प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीको सहभागिता रहनेछ, यो एसियाली खेलकुदमा अहिलेसम्मको कुनै पनि सहभागिताभन्दा बढी हो । चीनमा आयोजना हुन लागेको यो तेस्रो एसियाली खेलकुद हो । यसअघि बेइजिङ र ग्वाङचउमा यो बृहत् खेलकुदको आयोजना भएको छ । चीन पुराना दुई संस्करणभन्दा बढी सफल र भव्य आयोजना गर्न चाहन्छ, समग्रमा १९ औं एसियाली खेलकुद ।
सन् १९५१ मा भारतको नयाँदिल्लीमा आयोजित पहिलो संस्करणबाट सुरु भएको प्रतियोगिताको यसपल्टको संस्करण यस क्षेत्रको जनसंख्या, अर्थतन्त्रको आकार र भौगोलिक कारणले पनि बृहत् मानिएको हो । खासमा यो प्रतियोगिता पछिल्लो सेप्टेम्बरमै हुनुपर्ने थियो । चीनको कोभिड प्रकोपप्रति शून्य सहनशीलताका कारण प्रतियोगिता एक वर्ष पछाडि सरेको
प्रतियोगितामा ४० खेल समावेश गरिएका छन् र त्यसमा ४ सय ८१ स्पर्धा समावेश छन् । हाङचउले प्रतियोगिताका लागि भनेर ५४ खेल स्थलमा प्रयोगमा ल्याउनेछ, त्यसमध्ये १४ केन्द्र नयाँ निर्मित गरिएका हुन् । उद्घाटन स्थलको नाम ‘बिग लोट्स’ पनि छ र यहीं समापन समारोह पनि आयोजना हुनेछ । प्रतियोगिताकै लागि भनेर १० हजार क्षमताको भव्य तथा सानदार एसियाली भिलेजको पनि निर्माण गरिएको छ ।
उद्घाटन समारोहमा सुरुमै गरिने मार्चपासमा एक–एक महिला र पुरुष खेलाडीले नेपालको झन्डा बोक्दै अगुवाइ गर्ने भएका छन् । नेपाल ओलम्पिक कमिटीका अनुसार महिलामा उसुकी निमा घर्तीमगर र पुरुषमा तेक्वान्दोका वीरबहादुर महराले यो ऐतिहासिक अवसर पाउन लागेका छन् । निमा पछिल्लो दुई संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता हुन् ।
यस्तै वीरबहादुरले पछिल्लो सागमा स्वर्ण जितेका थिए । उद्घाटन समारोह दुई घण्टाका हुनेछ । त्यसको सुरुमा प्रतियोगितामा सहभागी ४५ देशका खेलाडी तथा पदाधिकारीले मार्चपास गर्नेछन् । नेपालले कुल २९ खेलमा सहभागिता जनाउँदै छ । सहभागी हुने खेलाडीको संख्या भने २ सय ५३ रहेको छ ।