एसियाली महादेशबाट इरान विश्वकपमा छनोट

तेहरान । आगामी नोभेम्बरमा  कतारले आयोजना गर्ने फिफा विश्वकप-२०२२ मा इरानले आफ्नो स्थान पक्का गरेको छ । कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा इराकविरुद्धको खेलमा १-० को जित निकाल्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली मुलुक बनेको छ ।

तेहरानस्थित आजादी स्टेडियममा भएको खेलमा इरानका मेहदी तारेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । इरान विश्वकपका लागि लगातार तेस्रो पटक छनोट भएको हो । यस उपलक्ष्यमा इरानका राष्ट्रपति इब्राहिम रइसीले खेलाडीहरुलाई बधाई दिएका छन् ।

तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ । एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ । सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ ।

छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो । जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।