एसिया कप छनोटका लागि महत्वपूर्ण खेल प्रिमियर कप आजबाट, नेपालको खेल मलेसियासँग

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४ः१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ । नेपाल उपाधि दाबेदार टोली हो । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टि–२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ । उता मलेसियाका विरनदिप सिंह,शर्विन मुनिआन्डि र सैद अजिज प्रमुख ब्याटर हुन् । यी तीन विकेट समयमै लिन सके नेपाल खेलमा हाबी हुन सक्छ । स्पिनर पवनदिप सिंह प्रमुख बलिङ हतियार हुन् ।

नेपाल र मलेसियाबिच हालसम्म ९ टि-२० आई खेल भएका छन् । नेपाल ८ र मलेसिया १ खेलमा विजयी भएका छन् । नेपाल २०२० को एसीसी इस्टर्न रिजनमा मलेसियासँग २२ रनले पराजित भएको थियो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १३२ रनमा अल आउट भएको थियो । अन्य सबै खेलमा भने नेपाल विजयी भएको छ ।