काठमाडौं । मोहम्मद रिजवान र मोहम्मद नवाजको उत्कृष्ट प्रदर्शनमा पाकिस्तानले युएईमा जारी टी–२० एसिया कप २०२२ को सुपर फोरमा भारतलाई ५ विकेटले गराएको छ । जितको लागि १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम बल अगाडिनै ५ विकेट गुमाएर लक्ष्य भेटायो । उसका लागि ओपनर मोहम्मद रिजवानले ७१ रनको उत्कृष्ट पारी खेले।
उनले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नवाजले २० बलमा ६ चौका र २ छक्कासहित ४२ रनको बिस्फोटक पारी खेले । भारतका रवि विश्रोई, अर्शदीपसिंह, भुवनेश्वर कुमार, हार्दिक पान्ड्या र युजभेन्द्र चहलले समान एक(एक विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो। उसका लागि विराट कोहलीले सर्वाधिक ६० रन बनाए।
लगातार दोस्रो अर्धसतक प्रहार गर्ने क्रममा कोहलीले ४४ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय केएल राहुल र रोहित शर्माले समान २८–२८ रन बनाए । पाकिस्तानका शादब खानले २ विकेट लिए। समूह चरणको खेलमा पाकिस्तान भारतसँग ५ विकेटले पराजित भएको थियो।
सुपर फोरमा भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन्। भारतले अब मंगलबार श्रीलंका र बिहीबार अफगानिस्तानसँग खेल्नेछ। पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग खेल्नेछ। शीर्ष दुईमा रहने टोली फाइनल खेल्नेछन्।