काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरब र नेपाल भिड्दै छन् । नेपालको नजर सेमिफाइनलमा छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा नेपालले साउदीसँग पहिलो पटक खेल्न लागेको हो ।
नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ । नेपाल २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ ।
तीन खेलबाट ४ अंक नै जोडेको ओमान दोस्रो स्थानमा छ । मलेसिया र साउदीको समान २–२ अंक छ । नेपालले ११ वर्षपछि साउदीसँग ५० ओभरको क्रिकेट खेल्न लागेको हो । यसअघि सन् २०१२ मा एसीसी ट्रफी एलिटकमा नेपालले साउदी अरबलाई ९ विकेटले पराजित गरेको थियो ।