काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली मलेसियाको सामना गदैछ । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । विजेता टोलीले यसै वर्ष हुने महिला टि–२० एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ । एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन् ।
एसिया कप खेल्न यो नेपाललाई स्वर्णिम अवसर हो । मलेसियालाई हराए ८ वर्षपछि महिला टोली एसिया कपमा पुग्नेछ । पछिल्लो पटक नेपालले २०१६ मा थाइल्यान्डमा एसिया कप टि–२० क्रिकेट खेलेको थियो । त्यसबेला भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड सबै पाँच टोलीसँग हारेर नेपाल बाहिरिएको थियो । नेपालले क्वाटरफाइनलमा कुवेतलाई ८ विकेट तथा मलेसियाले जापानलाई १६ रनले हराउँदै सेमिफाइनल भिड्न लागेका हुन् । कुवेतलाई हराउन सीता रानामगरले कुवेतविरुद्ध ह्याट्रिक लिएकी थिइन् । नेपालको चार मध्य तीन जितमा सीता प्लेयर अफ द म्याच चुनिएकी थिइन् ।