ओलम्पिक छनोटमा नेपाल भियतनामसँग पराजित

Photo : goalnepal.com

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग हारेको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५–१ ले विजयी भयो । नेपालक लागि सावित्र भण्डारीले सान्त्वना गोल फर्काइन् । ४ गोलले पछि परेको नेपालका लागि ८० औं मिनेटमा सरु लिम्बूको पासमा सावित्रा भण्डारीले किपरलाई विट गर्दै गोल गरेकी हुन् ।

यसअघि दशरथ रंगशालामा खेलको ११ औं मिनेटमा नै भियतनामका लागि नुयेन थि टुएट जुङको पासमा हाई येनले गोल गर्दै अग्रता दिलाएकी थिइन् । खेलको ३५ औं मिनेटमा भियतनामको खेलाडीले पोष्टको दिशामा हानेको बल डी बक्सभित्र नेपालकी डिफेन्डर हिरा भुजेलको हातमा लाग्दा भियतनामले पेनाल्टी पायो । पेनाल्टीमा भियतनामकी कप्तान हियुन नुलेले गोल गरिन् ।

खेलको ३८ औं मिनेटमा नुयन थि विच थुयको बल अमृता जैशीको खुट्टामा लाग्दा आत्मघाती गोल भोग्दै पहिलो हाफमा नेपाल ३–० ले पछि परेको थियो । दोस्रो हाफमा पनि उत्तिकै आक्रमक देखिएको भियतनामले खेलको ४८ औं मिनेटमा होङ थि लोनको पासमा कप्तान हियुन नुले दोस्रो बारमा गरेको प्रहार गोल भएको हो । भियतनामको लागि लागि पाँचौं गोल नुयेन थि थान नाले नियमित समयको अन्तिम मिनेटमा गरिन् र भियतनाम ५–१ ले विजयी भयो ।