काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिएनन् । उनीजस्तै टिकट नपाएका घनश्याम भुसालले एमाले छाडेसँगै भीम रावलप्रति समेत धेरैको चासो थियो । तर, रावलले भने एमाले नछाड्ने घोषणा गरेका छन् ।
अछाम १ बाट तीन पटक सांसद निर्वाचित भइसकेका उनी प्रभावशाली नेता मानिन्छन् । माओवादी केन्द्र छोडेर आएका झपट बोहोरा उनको स्थानमा उम्मदेवार बनेका छन् । एमाले नछाडे पनि रावले बोहोराको पक्षमा खुल्छन वा खुल्दैनन् भन्ने निश्चित छैन । रावलले टिकट नपाएको र एमालेको टिकट वितरण पद्धतिबारे आएका प्रश्नमा म गहन अध्ययन गरिरहेको छु, उचित समय आएपछि बोल्नेछु भनेका थिए ।
रावलले बिहीबार पत्रकार सम्मेलन आयोजना गरे। जसमा उनले अध्यक्ष ओलीमाथि कडा आलोचना गरे । पत्रकार सम्मेलनका लागि उनले पाँच हजार शब्दको वक्तव्य तयार पारेका छन् । जसको सारमा उनले भनेका छन्, ‘टिकट वितरण प्रणाली स्वेच्छाचारी र अन्यायपूर्ण छ।’ आफू पनि त्यसैको शिकार भएको उनको भनाई छ । एमालेमा विवाद हुँदा समाधानको प्रयास गर्ने १० बुँदे पक्षधरलाई प्रतिशोध साँध्नकै निम्ति अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कुनै योगदान नभएकालाई टिकट दिएको उनको भनाई छ ।
पार्टीभित्र विधि र पद्धतिको वकालत गर्नेहरूलाई षडयन्त्रपूर्वक नेतृत्वले पाखा लगाएको उनले आरोप लगाए । एमाले अध्यक्ष ओलीले निकटहरूसँग १० बुँदे पक्षधरले पार्टीको अनुशासन उल्लंघन गरेकाले आत्मालोचना गर्नुपर्ने बताउँदै आएका थिए। पार्टीभित्र अनुशासनका कुरा गर्ने अध्यक्ष ओलीलाई नै रावलले प्रश्न गरेका छन्, ‘होली वाइनका प्रवर्द्धक एकनाथ ढकालले समानुपातिकको टिकट पाउने, एमालेका कार्यकर्तामाथि दमन गर्ने र पार्टीले प्रतिक्रियावादी भनेको व्यक्तिलाई मकवानपुरमा चुनाव चिन्ह दिने, एमालेलाई नश्लवादी पार्टी भन्ने जसपासँग चुनावी साँठगाँठ गर्ने काम कुन विधि, अनुशासन र पद्धतिभित्र पर्छ ?’
अछाम(१ मा अन्तरघात गरेर आफूलाई हराउन नसकिने निष्कर्षमा पुगेपछि ओलीले टिकट नदिएको रावलको दाबी छ। क्षेत्र र जिल्लाबाट सर्वसम्मत सिफारिस हुँदासमेत आफूलाई टिकट नदिनुले अछाम जिल्ला कमिटीको अपमानका साथै पार्टीको हित र एकतामा आघात पुर्याएको रावललको जिकिर छ।
‘एमालेमा कुनै योगदान नगरेको र सिफारिसमै नपरेको व्यक्तिलाई अघि सार्ने अध्यक्ष केपी ओली लगायतले गरेको निर्णय प्रथम दृष्टिमा नै स्वेच्छारी, अन्यायपूर्ण र गलत छ। यस्तो निर्णयले पार्टी संगठनमा रहनुभएका नेता र कार्यकर्ताको अपमान भएको छ र पार्टीको हित र एकतामा आघात पुर्याएको छ।’