ओलीले संसद विघटन गरेको एक वर्ष पुरा, राजनीतिक अस्थिरताले के भए उथलपुथल ?

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफु तल पर्ने डरले गरेको एक कदमका कारण पछिल्लो एक वर्षमा मुलुकले सबैभन्दा ठूलो क्षति बेहोर्नु परेको छ । यस्तो कदमको शुरुवात भएको दिन हो आज पुस, ५ । गत वर्ष आजकै दिन ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । ओलीले आफू हट्नुपर्‍यो भने प्रधानमन्त्रीको कुर्सीमा कोही पनि बस्न नसक्ने धम्की दिने गरेका थिए ।

सोही अनुसार उनले संसद विघटन गरेका हुन् । उनको यो निर्णयपछि सबैभन्दा क्षति राष्ट्रपति संस्थाको निष्पक्षता र गरिमामाथि पुगेको छ । खासगरी संविधान विपरितका काममा पनि राष्ट्रपतिले प्रश्न गर्न नसकेको आरोप लागेको छ । यो आरोपले पदकै गरिमा घटाएको हो । यो घटनापछि केन्द्रको सरकारको नेतृत्व गरिरहेको नेकपा फुटेर एमाले र माओवादी घटक छुट्टाछुट्टै भए । फुटको ऋृंखला त्यतिमा रोकिएन ।

एमाले पार्टी पुनः फुट्यो । केन्द्र सरकार ढलेपछि एमाले नेतृत्वका सबै प्रदेश सरकार ढले । माओवादीले नेतृत्व गरेको स्थानमा पनि हेरफेर गर्नुपर्यो । हुन त ओलीको यो निर्णय लामो समय टिकेन । सवोच्च अदालतबाट ओलीको निर्णय बदर भयो र उनको सरकारल ढलेको हो । ओलीको यसै निर्णयका कारण कांग्रेस सभापति शेर बहादुर देउवा ५ औं पटक मुलुकको प्रधानमन्त्री बने ।