काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका दुई प्रदेश प्रमुखले पुनः नियुक्ति पाएका छन् । यससँगै ओलीले नियुक्त गरेका प्रदेश प्रमुखहरुको भने जागिर गएको छ । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशको प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा अमिक शेरचन नियुक्त गरेकी छिन् ।
मंगलबार नै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी हुन् । शेरचन नेकपा माओवादी केन्द्रका नेता हुन् । उनी यसअघि गण्डकी प्रदेश प्रमुख थिए । तर, ओलीले उनलाई गत २० वैशाखमा हटाएका थिए ।
उनको स्थानमा सीता पौडेललाई नियुक्त गरिएको थियो । लुम्बिनीका प्रदेश प्रमुख यादव २०७६ कात्तिक १८ गते प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनी कांग्रेसका नेता हुन् । राजनीतिक प्रतिसोधमा यसअघि हटाइएको दुई नेतालाई पुननियुक्ति दिएर देउवा सरकारले ओलीसँग बदला लिएको छ ।