ओल्के पर्व मनाउँन आज सुदुरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व मनाइँदैछ । यस पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभर बुधबार सार्वजनिक विदा घोषणा गरेको छ । ओल्के पर्वमा घरमा नयाँ परिकार पकाएर आपसमा खुसी साटासाट गरिन्छ । ठूलाबडा तथा मान्यजनलाई सम्मान स्वरुप हरियो साग (खासगरी गाभा), फलफूल तथा भान्छामा पाकेको मिठो परिकार दिने परम्परा रही आएको छ ।

विपत्तीबाट जोगिएको खुशियालीमा मनाइने ओल्के पर्वमा मान्यजनलाई अन्न, दूध, दही, घ्यू, पनि दिने गरिन्छ । सुदूरपश्चिममा ‘मरुला भनेर बिशु खानु, बाँचे भने ओल्के खानु’ भन्ने भनाइ पनि प्रचलित छ । आजको दिन विवाहित छोरी–चेलीलाई माइती घरमा बोलाई उनीहरुलाई मन पर्ने खानेकुरा खुवाउने र गक्षअनुसारको दान दक्षिणा दिने चलन छ । साथै देउडा र पिङ खेलेर रमाइलो गर्ने चलन पनि छ ।