कंचनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना, तीन जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लालझाडी गाउँपालिका ९ का ५५ वर्षीय रानि राना, ४३ वर्षीया रतना राना र ६५ वर्षीय द्रोपति रानाको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय झलारीका अनुसार दुर्घटनामा गम्भीर घाइते रामप्रसाद चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

शुक्रबार दिउँसो वेदकोट नगरपालिकाको दैजीबाट जन्ती बोकेर फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्याक्टर झलारीमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका थिए। उनीहरू मध्ये ८ जनालाई उपचारका लागि धनगढी पठाइएको थियो । दुर्घटनाको कारण खुलेको छैन ।