कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत

काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ ।

यो कदमले काउन्सिलका सदस्य मुलुकहरुको बीचमा रहेका महत्वपूर्ण विषय हल गर्न र सो क्षेत्रमा स्थायित्व र सहकार्यका लागि योगदान गर्ने सरकारको विश्वास रहेको छ ।

मन्त्रालयले जिसीसीका सबै मुलुकहरुसँग राम्रो दुईपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालले जहिले पनि गल्फ क्षेत्रमा शान्ति, स्थायित्व र विकासको शुभेच्छा राखेको उल्लेख गरेको छ । साउदीले कतारमाथि तीन वर्षअघि लगाएको नाकाबन्दी खुलाएको छ ।