कतारमा रहेका तालिवानका उच्च तहका नेता अफगानिस्तान फर्किए

AFP\BBC

कतार । कतारमा निर्वासित अवस्थामा रहेका तालिबानका उच्च तहका नेताहरु स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले नियन्त्रण गरेसँगै समूहका उच्च तहका नेता कतारबाट स्वदेश फर्केको बीबीसीले जनाएको छ । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल गनी बरादर पनि अफगानिस्तान पुगेका छन्।

अमेरिकी सैन्य फिर्तीबारे भएका वार्ताहरूमा महिनौँ नेतृत्व गरेका उनको स्वदेश फिर्तीलाई एउटा नाटकीय पुनरागमनको सङ्केतका रूपमा लिइएको छ। उनी स्वदेश फर्कने क्रममा कान्दहार विमानस्थलनमा उत्रिएका हुन्। कान्दहार तालिबानकै शब्दमा उनीहरूको पवित्र उद्गमस्थल हो। २० वर्षअघि अमेरिकी फौजले तालिबानलाई हटाउनु अघिसम्म कान्दहार उनीहरूको महत्त्वपूर्ण आधार क्षेत्र रहेको थियो।

कान्दहार विमानस्थलबाट उनी कारमा बसेर बाहिरिँदा उनको स्वागत गर्न कैयौँ मानिसहरू आएको देखिने भिडिओ फुटेजहरू बाहिरिएका छन्। मुल्लाह अब्दुल गनी बरादर सन् १९९४ मा तालिबानको गठन गर्ने संस्थापक मध्येका एक हुन् । सन् २००१ मा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले तालिबानलाई सत्ताबाट हटाइदिएपश्चात् उनी विदेशी सैन्य फौजविरुद्धको विद्रोहका एक प्रमुख नाइके बनेका थिए।

सन् २०१० मा अमेरिका र पाकिस्तानको संयुक्त कारबाहीका बेला उनलाई कराची सहरबाट पक्राउ गरिएको थियो। त्यतिखेर अफगानिस्तान सरकारले शान्ति वार्ताको कुरा गर्दा पहिले आफ्ना बन्दी मुक्त गर्नुपर्ने भन्दै तालिबानले दिने गरेको सूचीमा उनको नाम प्रमुख रूपमा राखेको समेत बीबीसीले जनाएको छ । सन् २०१३ मा पाकिस्तानी सरकारले उनलाई रिहा गरेको हो ।