कति शक्तिशाली छ हिज्बुल्लाह ?

काठमाडौं । लेबननको शक्तिशाली मिलिशिया तथा राजनीतिक अभियानका वरिष्ठ कमान्डर फुआद शुकर इजरायली आक्रमणमा मारिए पछि पुनः एक पटक हिज्बुल्लाह समूह चर्चामा छ । उसले इजरायलविरुद्ध प्रतिक्रामण गर्ने तयारी गरेको छ ।

दुई पक्षबीच द्वन्द्व बढेकै बेला इजरायलद्वारा हत्या गरिएका उनी सबैभन्दा उच्च तहका हिज्बुल्लाह सदस्य हुन् । इजरायली सेनाले गत शनिवार उसको अधीनमा रहेको गोलन हाइट्सस्थित एउटा फुटबल मैदानमा बालबालिकासहित १२ जनानको ज्यान जाने गरी भएको क्षेप्यास्त्र आक्रमणमा शुकरको हात रहेको आरोप लगाएको छ।
हिज्बुल्लाहले उक्त घटनामा आफ्नो समूहको संलग्नता अस्वीकार गरेको छ। यद्यपि उसले उक्त स्थान नजिकैको सैन्य आधारशिविरमा आक्रमण गरेको दाबी गरेको थियो। त्यसैले उक्त क्षेप्यास्त्र पनि हिज्बुल्लाहको लक्ष्यभन्दा बाहिर गएको हुन सक्ने सम्भावना भएको कतिपयको विश्लेषण छ। अल–हज मोहसिन पनि भनिने शुकर हिज्बुल्लाह नेता हसन नस्रल्लाहका निकट सल्लाहकार मानिन्थे र उनी लामो समयदेखि उक्त समूहमा आबद्ध थिए।

नस्रल्लाहले टेलिभिजनबाट आफ्ना समर्थकलाई सम्बोधन गरे। त्यसलाई हिज्बुल्लाहको सम्भावित अर्को कदमको कुनै पनि सङ्केतका रूपमा धेरैले चासोपूर्वक हेरेका थिए। उनले गोप्य स्थानबाट बोल्दै इजरेलसँगको द्वन्द्व नयाँ चरणमा प्रवेश गरेको उद्घोष गरे। सुरक्षाका कारण उनले सधैँ त्यसरी सम्बोधन गर्छन्।

नस्रल्लाहले अवश्यम्भावी प्रतिक्रिया कुर्न इजरायललाई चेतावनी दिए। शत्रुपक्षले सीमा नाघेकाले त्यसको मूल्य चुकाउनुपर्ने उनले बताए। इजरेलले गैरसैनिक भवनलाई लक्षित गरेर हमला गरेको बताउँदै उनले हिज्बुल्लाहले पनि समान खालको प्रतिक्रिया दिन सक्ने सङ्केत गरे। उनको सम्बोधनको भाकाले इजरेलसँग अर्को ठूलो युद्धमा उक्त समूहले चासो नदेखाएको सङ्केत गरेको जस्तो देखिन्छ। तर त्यो उनीहरूको रणनीति पनि हुन सक्ने ठानिएको छ।

शुकरको गत मङ्गलवार हत्या भएको थियो। त्यस क्रममा दुई बालकसहित अन्य छ जनाको पनि ज्यान गएको थियो। आफ्ना सैन्य नेता मारिएपछि हिज्बुल्लाह र इजरेलबीच पुनः द्वन्द्व चर्किने र त्यो मध्यपूर्वभरि फैलिन सक्ने चिन्ताहरू उत्पन्न भएका छन्। गत अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणको भोलिपल्टदेखि हिज्बुल्लाहले पनि इजरेललक्षित हमलाहरू सुरु गरेको थियो।

उसले आफ्नो अभियान गाजास्थित प्यालेस्टिनीहरूको समर्थन चलाइएको बताएको छ। अहिलेसम्म उक्त समूहका अधिकांश आक्रमण र इजरेलको प्रत्याक्रमण लेबनन र इजरेलका सीमावर्ती क्षेत्रमा सीमित छन्।

इरानको समर्थन पाएको हिज्बुल्लाहलाई इजरेलले हमासभन्दा धेरै शक्तिशाली शत्रुको रूपमा हेर्दै आएको छ। उक्त समूहसँग उन्नत अस्त्रहरूको ठूलो भण्डार छ। त्यस्ता अस्त्रहरूमा ड्रोनहरू र इजरेली भूमिभित्र प्रहार गर्न सकिने खालका उच्चस्तरीय प्रविधिमा आधारित क्षेप्यास्त्रहरू पनि छन्।

हिज्बुल्लाहसँग द्वन्द्व बढेमा इरानको समर्थन पाएका उक्त क्षेत्रका अन्य समूह पनि त्यसमा संलग्न हुन सक्छन्। ती समूहहरूको अनौपचारिक सैन्य गठबन्धनलाई तेहरानले एक्सिस अफ रेजिस्टन्स भन्ने गर्छ। त्यस्ता समूहमा यमनको हूथी र इराकका लडाकु समूहहरू पनि पर्छन्।

इरानले पनि आफ्ना नयाँ राष्ट्रपतिले पदभार गर्ने दिन आयोजित विशेष समारोहमा सहभागी हुन तेहरान भ्रमणमा रहेका बेला बुधवार मारिएका हमासका राजनीतिक प्रमुख इस्माइल हानियाको हत्याको जबाफ दिने वाचा गरेको छ।
बीबीसीको सहयोगमा