काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको कपनस्थित एक घरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । कपनको राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी रहेको घरमाआगलागी भएको हो । घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीको अनुमान छ । घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको काठमाडौं प्रहरीका एसएसपी भरत बोहरालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
एजेन्सी सञ्चालकले भुइँतलामा राखेका सिलिन्डर पड्किएको र त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भएको प्रहरीले बताएको छ । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल उद्धार गरिएको बताइएको छ । शव टिचिङ अस्पतालमा लगिएको छ । मृतकको पहिचान भइसकेको छैन । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी भने नियन्त्रणमा लिइएको छ ।