बुटवल । कपिलवस्तुको मायादेवी गाउँपालिकामा अपरिचित समुहले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर ६ मदरहवाका अन्दाजी ५५ बर्षका घुरहु भन्ने रामसमुझ पासीको हत्या भएको प्रहरीले जनाएको छ । पासीका परिवारका सदस्य अनुसार घरमै बसेका उनलाई दुई जना अज्ञात व्यक्तिले घरबाट बोलाई मायादेवी गाउँपालिका ५ को महादेव र बनकसिया बिचको सडकमा पुर्याएर गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पासीको उपचारका लागि कपिलवस्तु अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
कपिलवस्तु अस्पतालको ईमरजेन्सीमा कार्यरत डाक्टर खगेन्द्र चौधरीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार मृतकको बायाँ तिघ्रामा गोली लागेर छेडिएको थियो । तिघ्रामा गोली लागेका उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताइएको छ । गोली प्रहारको घटनामा संलग्नहरुको खोज तलासका लागि प्रहरीको टोली घटनास्थल खटाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।