कपिलवस्तु । कपिलवस्तु, गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमले जनाए अनुसार गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका नायब उपरीक्षक जेसी शाहलाई उदृत गर्दै संचारमाध्यमले यसको पुष्टी गरेका हुन् ।
राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको हो । उनको पेटमा दुई वटा गोली लागेको थियो । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीको अनुमान छ ।