बैङ्कक, २८ मङ्सिर (रासस–एएफपी) । कम्बोडियाली सेनाले शनिबारको झडपका क्रममा चार थाई सैनिकको हत्या गरेको थाई अधिकारीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका लागि सहमति भएको भन्ने भनाइलाई थाई प्रधानमन्त्रीले खण्डन गरेका छन् । दक्षिणपूर्वी एसियाली छिमेकीहरूबीचको हिंसा उनीहरूको ८०० किलोमिटर (५०० माइल) सीमाको औपनिवेशिक युगको सीमाङ्कनलाई लिएर लामो समयदेखि चलिरहेको विवादबाट उत्पन्न भएको हो । दुबै पक्षका लगभग पाँच लाख मानिसहरू विस्थापित भएका छन् । द्वन्द्वमा कम्तीमा चार थाई सैनिकसहित २४ जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
ट्रम्पले युद्धविराममा सहमति भएको भन्नुअघि दुवै पक्षले द्वन्द्व भड्काएको आरोप एक अर्कोमाथि लगाएका थिए । थाई प्रधानमन्त्री अनुतिन चर्नविराकुलले शुक्रबार टेलिफोन वार्ताका क्रममा ट्रम्पले युद्धविराम गर्ने वा नगर्ने भन्ने कुरा उल्लेख नगरेको बताएका छन् । अनुतिनले शनिबार सञ्चारमाध्यमहरूलाई दिएको जानकारीमा भनिएको छ, “दुई देशका नेताहरूले यस विषयमा ‘छलफल गरेका छैनन्’।” ट्रम्पले शुक्रबार अनुतिन र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटसँगको ‘धेरै राम्रो कुराकानी’ को प्रशंसा गरेका थिए ।
ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल प्लेटफर्म’ मा लेखेका छन्, “उनीहरु आज साँझदेखि लागू हुने गरी सबै आक्रमण बन्द गर्न सहमत भएका छन् र जुलाईमा भएको मूल शान्ति सम्झौतामा फर्कन सहमत भएका छन् । ” संयुक्त राज्य अमेरिका, चीन र क्षेत्रीय समूह आसियानको अध्यक्षका रूपमा मलेसियाले जुलाईमा पाँच दिनको हिंसापछि युद्धविरामको मध्यस्थता गरेका थिए । गत अक्टोबरमा ट्रम्पले थाइल्यान्ड र कम्बोडियाबीचको संयुक्त घोषणालाई समर्थन गर्दै युद्धविरामलाई लम्ब्याउन सहमति जनाएपछि नयाँ व्यापार सम्झौताको घोषणा गर्नुभएको थियो तर थाई सैनिकहरू सीमामा बारुदी सुरुङमा घाइते भएपछि थाइल्यान्डले अर्को महिना यो सम्झौता स्थगित गरेको थियो ।
थाइल्यान्डबाट विस्थापित कन्यापत साओप्रियाले आफू अब कम्बोडियालाई विश्वास नगरेको बताएका छन् । “शान्ति प्रयासको अन्तिम चरणको प्रयास सफल भएन । यो पनि हुन्छ कि हुँदैन मलाई थाहा छैन,” ३९ वर्षीय सीले एएफपीसँग भने । सीमा पार गरेर आएकी एक कम्बोडियाली शरणार्थीले ट्रम्पको हस्तक्षेपका बाबजुद पनि लडाइँ नरोकिएकोमा आफू ‘दुःखी’ भएको बताए । “म क्रूर कार्यबाट खुसी छैन,” ४३ वर्षीया भि रिनाले भनिन्,
– नागरिकहरूमाथि दोषारोपण –
बैंकक र नोमपेनमा सर्वसाधारणमाथि आक्रमण भएको आरोप लगाइएको छ भने थाई सेनाले शनिबार कम्बोडियाली रकेट आक्रमणबाट छ जना घाइते भएको जनाएको छ । यसैबीच, कम्बोडियाका सूचना मन्त्री नेथ फेक्ट्राले भन्नुभयो, “थाई सेनाले आक्रमणलाई विस्तार गर्दै ‘नागरिक पूर्वाधार र कम्बोडियाली नागरिक’ लाई लक्षित गरेको छ । ” थाई नौसेनाका प्रवक्ताले द्वन्द्वग्रस्त क्षेत्रमा हतियार ओसारपसार गर्न प्रयोग गरिएका कम्बोडियाका दुईवटा पुललाई ध्वस्त पारेको बताएका छन् ।
थाइल्यान्डको बुरिरामस्थित एक शिविरमा कुरा गर्दै विस्थापित बासिन्दाहरूले सीमा नजिकै आफन्तहरूलाई फोन गरेको देखेका र उनीहरूले लडाइँ जारी रहेको बताएका स्थानीय सञ्चारकर्मीले बताए । थाइल्यान्डका प्रधानमन्त्रीले ‘आफ्नोे भूमि र जनतामाथि कुनै हानि र खतरा महसुस नगरेसम्म’ सैन्य कारवाही जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ट्रम्पसँगको टेलिफोनपछि अनुतिनले भने, “सम्झौताको उल्लङ्घन गर्नेले परिस्थितिलाई सुधार गर्न आवश्यक छ ।”
यसैबीच, कम्बोडियाका नेता हुन मानेटले आफ्नो देशले ‘विवाद समाधानका लागि सधैं शान्तिपूर्ण उपायहरूको पालना गर्दै आएको बताएका छन् ।