सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदैछन् । नेकपा एमालले समर्थन फिर्ता लिएसँगै उनले प्रदेश सभामा विश्वासको मत लिनु पर्ने भएको हो । उनले आफ्नो सत्ता बचाउन बहुमत सावित गर्नुपर्छ । आजबाट प्रदेशसभाको सातौँ अधिवेशन शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने प्रदेशसभाको सातौँ अधिवेशनमा पहिलो बैठकमा सरकारले दुईवटा अध्यादेश टेबल गर्ने र विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाउने गरी कार्यसूचि राखिएको छ ।
एमालेले चैत ५ मा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । माओवादीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रदेशसभामा विश्वासको मत लिने र यसका लागि सबै दलहरुलाई विश्वासको मत दिन अपिल गर्ने निर्णय गरेको छ ।
३९ जना सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २० जनाको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा माओवादीका १२ जना सांसद मात्रै छन्। कांग्रेसका ६ जना र राप्रपाका एकजना सांसद छन् । एमालेका सभामुखसहित २० जना सांसद छन्। एमालेबाट फ्लोर क्रस नभए मुख्यमन्त्रीको पद जानेछ ।