कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति भण्डारी जुम्ला पुग्नेछिन् ।

राष्ट्रपतिले ७६ करोडमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शिलान्यास गर्ने छिन् । एमबीबीएस, बीएनएस, बीफार्मा लगायतका शैक्षिक कार्यक्रमको समेत शुभारम्भ आजै हुने छ । राष्ट्रपति जुम्ला आउने भएपछि कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खातुन जुम्ला पुगेका छन् । एमबीबीएसमा १९, बीपीएचमा ८, बीएनएसमा १६, बीफार्मामा ८ र बीएमएसमा ११ विद्यार्थी भर्ना भएका छन् । यहाँ छात्रवृत्तिका विद्यार्थी मात्र भर्ना भएका छन् ।