कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा

Photo source : Ratopati

काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने कारखाना फेला परेको छ । आज वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले कारखानामा छापा मारेसँगै यसको रहस्य खुलेको हो । विभागले छापा मारेको यो कारखानाबाट ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको फेला परेको हो ।

विशेष सूचना पाएपछि विभागले अपराध महाशाखाको टोलीसहित छापा मारेको हो । हानीकारक कस्मेटिक बनाएर बजारमा बिक्री गर्ने गरेको आरोपमा अनुमगन टोलीले एकजना सञ्चालकलाई नियन्त्रणमा समेत लिएको छ ।

आज टोलीले नक्कली कस्मेटिक उत्पादन, भण्डारण एवं बिक्री गर्ने तीन वटा घर सिल गरेको छ । बजारमा नाम चलेका ५१ प्रकारका कस्मेटिक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरि कस्मेटिक उत्पादन हुने गरेको पाइएको विभागले जनाएको छ ।

विभिन्न ब्राण्डका मेहेन्दी र कालाकोला ब्राण्डको क्लिजिङ क्रिम, भ्यास्लिन, वोकली ह्वाइनिङ, विस्पर प्याडलगायतका वस्तुहरु यहाँबाट उत्पादन हुने गरेको पाइएको छ ।