काठमाडौं । काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। सडक छेउमा रोकेको बा प्र ०३–००१ ख २०४० न. को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र न ३–०२–००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको हो ।
अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। काठमाडौं-२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको हो। उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका १२का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।