काठमाडौं । एक साता देखि मुलुकका विभिन्न स्थानमा परिरहेको वर्षा अब क्रमशः कम हुे भएको छ । यसअघिको मौसमी प्रणाली कमजोर बन्ने क्रममा रहेका कारण अब तत्काल ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । हिजोसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा गराएको प्रणाली आजदेखि कमजोर भएको छ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा बदली भएर केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको र बेलुकीदेखि मौसम सफा हुँदै जाने छ ।
काठमाडौं उपत्यकासहित पूर्वका क्षेत्रमा भने अझै तीन दिनसम्म मौसम बदली हुने सम्भावना छ । मौसम बदली भएर सामान्य पानी परे पनि ठूलो वर्षाको सम्भावना भने नरहेको बताइएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश(१, वाग्मती र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा सामान्य पानी परिरहेको छ । बङ्गालको खाडीमा विकास भएको न्यून चापीय क्षेत्र सर्दै भारतको हरियाणा आसपासमा रहेको र त्यसको प्रभावले नेपालमा बदली भएको हो ।