कांग्रेसका दुई महामन्त्रीको एक मत : अबको प्रधानमन्त्री गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आगामी प्रधानमन्त्रीमा गगन थापाको दावि रहनेमा एक मत भएका छन् । दुई महामन्त्रीबीच मंगलबार भेट भएको छ । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने घोषणा गरे । मंगलबार काठमाडौंस्थित महामन्त्री थापाको घरमा बधाई ज्ञापन गर्न पुगेका महामन्त्री शर्माले गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान सुरु गर्ने बताए । उनले आफू थापालाई सांसद भएकोमा बधाई दिन मात्र नआएको भन्दै प्रधानमन्त्री बनाउने अभियान सुरु गर्न आएको बताए ।

उता, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकको भरोसालाई जोगाउन प्रधानमन्त्री बन्न आफ्नो आवश्यकता रहेको बताए । उनले लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा भनेकै चुनाव र नागरिकको भरोसा भएकाले अहिलेको परिस्थितिमा युवाहरुको नेतृत्व देशलाई आवश्यक भएको बताए । उनले नेपाली काँग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताए ।