जनकपुर । विवादका कारण टुंगो लाग्न नसकेको नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका लागि आज मतदान हुने भएको छ । प्रदेश अधिवेशनअन्तर्गत बुधबारका लागि मतदानको कार्यक्रम राखिएको हो । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान हुने छ । प्रदेश सभापति, उपसभापति, महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्रीमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला तथा विमलेन्द्र निधिको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुदैछ ।
केन्द्रमा सभापति पदमा देउवालाई दोस्रो चरणमा समर्थन गरेका निधि प्रदेश २ मा भने कोइरालासँग मिलेका छन्। कोइराला(निधिको समर्थनमा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी दर्ता गरेका छन् भने देउवा पक्षबाट रौतहट सभापति कृष्णा यादवले उम्मेदवारी दर्ता गरेका छन्।
राम सरोजको प्यानलबाट उपसभापतिमा धनलाल ठोकर र विनोद खनालले उम्मेदवारी दर्ता गराएका छन्। महामन्त्रीमा नरेश यादव र हरेस यादव भिड्दैछन् । सहमहामन्त्रीमा अरविन्द अमात्य, विनोद यादवबीच प्रतिस्पर्धा हुने छ । सहमहामन्त्रीमा निर्मला सुवेदी समेत प्रतिस्पर्धामा छिन् ।
कृष्णाको प्यानलबाट उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादवले उम्मेदवारी दिए भने महामन्त्रीमा उपेन्द्र यादव र वृहसपति कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। सहमहामन्त्रीमा जयनारायण यादव र परशुराम चौधरीले उम्मेदवारी दिए भने रिता यादवले पनि सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन्। प्रदेशमा करिब २ हजार मतदाता रहेको कांग्रेसले जनाएको छ ।