कांग्रेसको बागमति प्रदेश सभापतिमा देउवा पक्षका बानियाँ विजयी

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापति पदमा देउवा समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणनामा बानियाँले जगदीश्वर नरसिंह केसीलाई हराए । केसी प्रकाशमान सिंह र गगन थापा समुहका हुन् । बानियाँ कांग्रेस मकवानपुर जिल्ला सभापति समेत हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत पाए । केसीले ९२७ मत पाए । दुबै पक्षबीच कडा टक्कर भएको छ ।

पहिलो चरणमा तीन जना सभापतिका उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि आइतबार दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणबाट बाहिरिएका सभापतिका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेसँगै उनले जितेका हुन् । पहिलो चरणमा बानियाँको ९९२ मत आएको थियो । केसीले ८७२ मत । प्रधानले १९७ मत ल्याएका थिए ।