काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भएको केन्द्रीय कार्यसमिति सदस्यको मतगणना बिहीबार सकिने भएको छ । गत मंसिर २४ गतेदेखि काठमाडौंमा शुरु भएको महाधिवेशनमा मंसिर २७ मा केन्द्रीय पदाधिकारी र सदस्यका लागि चुनाव भएको थियो । तर, लामो प्रक्रियाका कारण मतगणना सकिएको छैन । मतदानलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना शुरु गरिएको थियो ।
मतगणना अन्तिम चरणमा पुगेको र बिहीबार सबै क्लष्टरको नतिजा आउने बताइएको छ । अब केन्द्रीय सदस्यतर्फ खस, आर्य, आदिवासी, जनजाति र दलिततर्फको गणना अन्तिम चरणमा छ । कांग्रेसमा १३ जना पदाधिकारी रहन्छन् । जसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ जना हुन्छन् ।
१६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापतिसहित एक सय ३४ सदस्य निर्वाचित हुन्छन् । कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट र ३३ जना केन्द्रीय सदस्य पनि मनोनीत हुन्छन् । मतगणना सकिएपछि सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र दिनेछ । त्यसपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक आह्वान हुने छ ।