काठमाडौं । नेपाली कांग्रेसमा तीन क्लस्टरको सहमहामन्त्रीमा विजेताको टुंगो लागेको छ । ५ सहमहामन्त्रीका लागि भने आज मतगणना हुने भएको छ । १४ औं महाधिवेशनबाट टुंगिन बाँकी पाँच सहमहामन्त्रीका लागि शुक्रबार मतगणना हुन लागेको हो । क्लस्टरअनुसार फरक, फरक पाँच स्थानमा मतगणनाको तयारी छ । कांग्रेसका आठ सहमहामन्त्री निर्वाचित हुने प्रावधान छ । तीन क्लस्टरका सहमहामन्त्रीको बिहीबार नै टुंगो लागेको हो ।
बिहीबार राति सकिएको मतगणनामा दलिततर्फ जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय र आदिवासी, जनजातितर्फ भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। परियार सभापति उम्मेदवार शेखर कोइराला प्यानलका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचन लडेका थिए । आज खस आर्य, मधेसी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका सहमहामन्त्रीको मतगणना हुनेछ । कांग्रेसमा अहिलेसम्म सभापति, उपसभापति, महामन्त्री र तीन सहमहामन्त्रीको नतिजा आइसकेको छ ।