कांग्रेसमा वर्तमान कार्यसमितिको अन्तिम बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको वर्तमान कार्यसमितिको अन्तिम बैठक बिहीबार बस्ने भएको छ । पार्टीको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न लागेको हो । बिहान साढे ११ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाइएको छ ।


बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ । शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ ।