५ माघ, काठमाडौं । नेपाली कांग्रेस यस पटक चुनाव अगाडी एक पार्टीकै रुपमा चुनाव लड्ने भएको छ । निर्वाचन आयोगले गगनलाई सभापतिको मान्यता दिएसँगै देउवा समूह अदालत पुगेको छ । अदालती प्रक्रिया थाँती राख्दै कांग्रेसका देउवा, गगन र शेखर कोइराला पक्ष निर्वाचनमा एक भएर जान सहमत भएका छन् । यससँगै कांग्रेसले टिकट वितरण समेत थालेको छ । देउवा पक्षका निर्वाचनमा लड्ने नेताहरु धमाधम गगनतर्फ खुल्न थालेसँगै सो समूह तुलनात्मक रुपमा कमजोर बनेको छ ।
यसअघि आज अदालतमा दायर रिट समेत फिर्ता लिने सहमति जुटेको समाचार सार्वजनिक भएको थियो । यसको भने देउवा पक्षले खण्डन गरेको छ । कांग्रेसले टिकट वितरण पारदर्शी बनाउन संसदीय बोर्ड गठन गरेको थियो । जसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री छन् ।
निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा।शेखर कोइराला पक्षलाई मिलाएर टिकट वितरण गर्ने गरी नेताहरु हिजोदेखि संवादमा जुटेका थिए । यससँगै निर्वाचनमा कांग्रेसलाई आन्तरिक कलहको प्रभावको जोखिमबाट पुनः एक पटक राहत मिलेको छ ।