काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले क्रियासिल सदस्यताको विषय टुंग्याउँदै छ । करीव साढे ४ लाख नयाँ सदस्य थप गरि सभापतिलाई प्रस्ताव गरिएको सदस्यताको विषयबारे छलफल गर्न आज सभापति शेर बहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।पार्टीको महाधिवेशन क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा केन्द्रीत भएर छलफल हुने काँग्रेसको भनाई छ ।
बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा चौधौं महाधिवेशनको तयारीका सम्बन्धमा समेत छलफल हुनेछ । नेता रमेश लेखकको संयोजकत्वमा गठित कार्यदलले पार्टीको क्रियाशील सदस्यता टुङ्ग्याउने विषयमा गृहकार्य गरिरहेको छ । निर्धारित समय सकिदासमेत विवाद मिल्न नसकेपछि हिजो बसेको पदाधिकारी बैठकले एक दिनको थप समय दिएको थियो ।
सोहीअनुसार आज दिउँसो २ बजे बैठक बस्न लागेको हो । काँग्रेसले आगामी भदौ १६ गतेदेखि काठमाडौंमा चौधौं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ । तर, निर्धारित समेतमा महाधिवेशन हुने नहुने भन्ने निश्चित भने छैन । सभापति देउवा पक्षले कोभिड समस्या तथा पार्टीको आन्तरिक सांगठनिक समस्याका कारण महाधिवेशनको मिति सार्ने प्रस्ताव गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाधिवेशन निर्धारित समयमै हुनुपर्ने अडानमा छ ।