कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन लागिएको हो ।

अभियानमा हरेक घरमा पुगि जनतासँग अन्तरक्रिया गर्ने तयारी कांग्रैसको छ । यसको संचालन स्थानीय पार्टी पंक्तिले गर्ने भएको छ । डा. महतका अनुसार विपक्षीले पार्टीका सम्बन्धमा छरेको भ्रम चिर्न समेत यस्तो अभियान चलाउने निर्णय भएको हो । कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारणबारे जनतालाई जानकारी गराउने उनले उल्लेख गरे ।