काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने गरी बोलाइएको छ । बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा सरकारमा पठाउन बाँकी चार जना मन्त्रीको नामावली टुंगो लगाउने, आगामी बैशाख १० गते हुने उपनिर्वाचनको तयारी लगायतका विषयमा छलफल हुनेछ । आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये कांग्रेसले चार मन्त्रालय सम्हाल्ने मन्त्रीको नामावली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाउन बाँकी छ ।
गत शुक्रबार प्रधानमन्त्री प्रचण्डले सातौं पटक मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसले चार जना मन्त्रीमात्र पठाएको थियो । आजको बैठकमा बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ । नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नम्बर २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय यसअघि नै गरेको छ ।