काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् । भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।
‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई छलेर जान खोजियो भने निरंकुशता हावी हुन्छ । त्यसैले अध्यादेशबाट देश चलाउने संस्कार त्यागेर संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।’
नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् । कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतका नेताले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए ।