कांग्रेस नेता भण्डारीको गरियो शल्यक्रिया

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद डा। चन्द्र भण्डारीको हात र पछाडिको भागको शल्यक्रिया भएको छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेको आफ्नै निवासको भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगलागीमा परि घाइते भएका उनको आज बुधवार कीर्तिपुरको बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।

अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गरिएको जानकारी दिए । उनको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आएका थिए ।


नेता भण्डारीको सर्जरीका लागि प्रा. डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा. प्रदीपराज भण्डारी, डा. तिम स्प्रौल, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा. प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्यान्ड थेरापिस्ट मोहनकृष्ण डङ्गोल रहेका थिए ।


सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उनलाई होस आएको जानकारी दिएका छन् । भारतमा दुई महिनाभन्दा बढी उपचार गराएर फर्किएपछि उनको गएको वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।