कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति, प्रचण्ड सरकार ढल्ने

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । यससँगै प्रचण्ड सरकार ढल्ने भएको छ । सोमबार मध्यराति दुई दलबीच सत्ता सहकार्य गर्ने बारे सहमति जुटेको हो । ललितपुरमा एक होटलमा दुई दलका दोस्रो तहका नेताले लिखित सहमतिको मस्यौदा बनाएका छन् ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ । दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको स्रोतले जानकारी दिएको छ ।