काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको भन्दै सुरक्षित भएर नयाँ साल मनाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मास्क, स्यानेटाइजरको प्रयोग अनिवार्य गर्न समेत सुझाव दिएका छन् ।
भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत कार्यक्रम नगरी सुरक्षितरुपमा नयाँ वर्ष मनाउन उनले आग्रह गरेका छन् । विसं २०७७ को वर्ष सम्पूर्ण विश्व नै प्राणघातक कोरोना भाइरसबाट आक्रान्त रहेको र नेपाल पनि यसबाट प्रभावित हुन पुगेको भन्दै उनले कयौँ नेपाली दाजुभाइले स्वदेश र विदेशमा महामारीका कारण जीवन गुमाउनुका साथै ठूलो सङ्ख्यामा नागरिक प्रताडित हुनुपरेको समेत बताएका छन् ।
कोभिड–१९ ले आम नागरिकको दैनिक जीवनमा ठूलो असर पुर्याउनुका साथै उद्योग, व्यापार, विद्यालयलगायत धेरै क्षेत्र नराम्रोसँग प्रभावित भएको र कांग्रेसले जिम्मेवार प्रतिपक्षी दलका रुपमा चुनौतीलाई सामना गर्न सरकारलाई सम्पूर्णरुपले सहयोग गरेको उनले भनाइ छ।