कांग्रेस सांसद भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं । भारतको मुम्बईमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्य सुधार हुँदै गएको चिकित्सकहरूले बताएका छन् । भण्डारीको शरीरमा रहेको अप्राकृतिक अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको उपचारमा संलग्न डा. मुकेश मिश्रालाई उद्धृत गर्दै कांग्रेस नेथा योगराज कँडेलले जानकारी दिएका छन्

। शनिबारदेखि भण्डारीलाई पाइपमार्फत खाना दिइने चिकित्सकहरूले बताएको उपचार समन्वयमा गएका नेता कँडेलले जानकारी दिए । ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।