काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।