काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा बिहीबार आमाछोरी मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटीमा सिन्धुपाल्चोक, जुगल गाउँपालिका स्थायी घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी मृत अवस्थामा फेला परेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शेपाका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पालाई अचेत अवस्थामा भेटाइएको छ । उनको नेपाल मेडिकल कलेजमा उपचार जारी रहको छ । प्रहरीले राति सुत्दा हिटर बालेर सुतेका कारण निस्सासिएर ज्यान गएको आशंका गरेको छ ।
बढ्दो चिसो र सुत्केरी रहेका कारण कोठा न्यानो बनाउन हिटर बालिएको फेला परेको छ । उनीहरुले किराना पसल सञ्चालन गर्दै आएका थिए । आज बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घरको ढोका फोेडेपछि उनीहरुलाई अचेत अवस्थामा भेटाएको थियो । भेन्टिलेटर नभएको कोठामा हिटर बालेर सुत्दा दुर्घटना भएको आंशका गरिएको छ । प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज पठाएको छ ।