काठमाडौंको तारकेश्वरमा पुनः बर्ड फ्लु

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पुनः बर्ड फ्लु पुष्टी भएको छ । यसअघि तीन साता पहिले तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लु देखा परेको थियो । सो स्थानमा बर्ड फ्लु नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको थियो ।

अहिले पुनः वडा नं. १ का कृषकले पालेका हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । पशु सेवा विभागका अनुसार बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरेको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले उल्लेख गरेको छ । पछिल्लो पटक १४२१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।