काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्रिमा झर्यो

काठमाडौं । काठमाडौं उपत्यकामा आज अझ चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार आज बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन भएको छ । यो यस सिजनकै सबैभन्दा कम हो । मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो । पानी परेको बेला वा बादल लागेको बेला अधिकतम तापक्रम घट्छ । आकाश सफा भएको बेला न्यूनतम तापक्रम घट्छ । यी दुवै अवस्थामा जाडो बढ्ने गर्छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । केही दिनमै कमजोर प्रकृतिको नयाँ पश्चिमी प्रणाली भित्रिने छ । मौसमविदका अनुसार तत्काल अहिले पानी पर्ने सम्भावना पनि छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पश्चिम तराईका धेरै स्थानहरुका साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ । यो हुस्सु कुहिरो दिउँसोपख हट्दै जानेछ ।