काठमाडौंको बाङ्गेमुडामा मेयर बालेनविरुद्ध किन सडकमा उत्रिए स्थानीय ?

काठमाडौं । काठमाडौंको बांगेमुढामा मेयर बालेन साहविरुद्ध नाराबाजी तथा पुत्ला दहन भएको छ । सामुदायिक भवन (थायमदु त्वाःछे) मा काठमाडौं महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका हुन् । उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नाराबाजी गरे । डोजर आतंक बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरोधी होसियार जस्ता नारा लगाउँदै उनीहरु विरोधमा उत्रिएका थिए ।

स्थानीयले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् । महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए ।